माओवादीधारका दलहरूको बैठक – अन्तर्क्रिया कार्यक्रम र पत्रकार सम्मेलन गर्ने निर्णय

पालिका संचारकर्मी
२६ फाल्गुन २०७९, शुक्रबार ११:००

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिए।

उनकाअनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ । सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा जुटेका छन् । केहीदिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवतस् शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।