भोजमा छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न दलित मोर्चाको माग
जनकपुरधाम । सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न संयुक्त दलित मोर्चा सिराहाले माग गरेको छ ।
गत सोमबार अध्यक्ष यादवले आफ्नी आमाको १३ औं पुण्य तिथिमा गरेको भोजमा दलित समुदायलाई अपमानित गरेको भन्दै मोर्चाले उनलाई कारबाही गर्न माग गरेको हो ।
आज(शुक्रबार) सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।
दलित मोर्चा सिराहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ । यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कानुन बमोजिम हदैसम्म कारबाहीको माग गर्दछौं ।’
यस्तै भोजमा सहभागी भएका पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंदले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्ने मोर्चाको माग छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित आयोगले पनि गाउँपालिकाका अध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको थियो ।