डिजे साउन्ड बजाउन निषेध
सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ मा डिजे साउन्ड बजाउने निषेध गरिएको छ ।
विवाह, व्रतबन्धलगायत अन्य कार्यक्रमहरूमा डिजे साउन्ड बजाउँदा त्यसले समाजमा असर परेको भन्दै वडा अध्यक्ष सुरेन्द्रकुमार यादवको अध्यक्षमा आज बसेको बैठकले सो निर्णय गरेको हो । ठुलो ठुलो स्वरमा डिजे साउन्डमा अश्लील गीतहरू बजाउनाले सामाजिक वातावरणमा असर पर्नुको साथै ‘साउन्ड पोलुशन’ समेत हुने गरेको कारण यो त्यसलाई निषेध गर्ने निर्णय गरिएको वडा अध्यक्ष यादवले बताए ।
यो निर्णयको अवज्ञा गर्नेलाई डिजे साउन्डलगायतका सामाग्री जफत गर्नुको साथै पाँच हजार जरिवाना र प्रचलित कानुन अनुसार थप कारबाही गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए ।