भन्सार छली ल्याइने सामानमा रोक लगाउन वाणिज्य संघको माग
बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघले भन्सार छली गैर कानुनी रूपमा भित्रिने सामानहरूमा रोक लगाउन माग गरेको छ । संघले भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै आन्तरिक व्यापार व्यवसायको प्रवर्द्धनमा आवश्यक सहयोग गर्न माग गरेको हो ।
संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बेलहिया नाका भएर घरायसी प्रयोजनका लागि लाखौं रुपैयाँका सामानहरु भित्रिने गरेकाले सुनौलीमा बढी व्यापार हुने गरेको तर भैरहवालगायत वरपरका बजारमा कम भएको गुनासो गरेका थिए ।
उनले खुल्ला सीमा व्यवस्थित गर्नुपर्ने माग गर्दै सम्बन्धित निकायले तदारुकता नदेखाए उद्योगी व्यवसायीलाई साथ लिएर आन्दोलनमा उत्रिन चेतावनी दिए ।
यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले उद्योगी व्यवसायीबाट सहकार्य र सूचनाको अपेक्षा गरेको बताए । उनले बिना भन्सार सामान लैजाने क्रियाकलापलाई निरुत्साहित गर्न भन्सार कार्यालय लागि परेको बताए ।