अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ – मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छन् । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज यहाँ उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।
मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने बताइन् ।