यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

पालिका संचारकर्मी
२ चैत्र २०७९, बिहीबार १७:५२

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ ।

बिहिबार त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा भएको खेलमा नेपालले डिएल मेडथमा यूएईमाथि २ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो भने नेपालले लक्ष्य पुरा गरेको सबैभन्दा उच्च योगफल पनि हो ।

नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्काको मद्धतमा ५० रनको आक्रामक अर्धशतक बनाए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । मध्यक्रमका ब्याटर भीम सार्कीले पनि अर्धशतकिय पारी खेले । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

यसैगरी आरिफ शेखले पनि अर्धशतक बनाए । उनले ६२ बलमा २ चौकासहित ५२ रन बनाएर आउट भए । र, बलर गुल्सान झाले आक्रामक अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५० रन बनाए ।

यस्तै, ओपनर आसिफ शेख शून्य रनमै आउट हुँदा कुशल मल्लले ५ रन, कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा आयान अफजल खानले दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एकरएक विकेट रह्यो ।