सुन्दरबजारका ४१ घरमा खानेपानीका धारा

पालिका संचारकर्मी
८ चैत्र २०७९, बुधबार १२:२०

लमजुङ । जिल्लाका तीनबटा पालिकामा कार्यरत गैर सरकारी संस्था सिआरएस, लुमन्ती र सप्रोस नेपालको संयुक्त कार्यक्रम पूनर्लाभ एवम् सामुदायिक उत्थानशिल (रिकभर) परियोजना अन्तर्गत निर्मित धुसेनी खानेपानी योजना हस्तान्तरण गरिएको छ ।

रिकभर परियोजनाअन्तर्गत सुन्दरबजार नगरपालिका १०, धुसेनीमा ४१ धारा सहितको खानेपानीयोजना उपभोक्ताहरुलाई हस्तान्तर भएको हो । सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले आफूले विगतमा राजनीति शुरु गरेदेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका विकासका कार्यमा प्राथमिकता दिंदै आएकोले यस्ता कार्यक्रम संचालन गर्न पाउँदा खुसी लागेको बताए ।

नगरप्रमुख कोइरालले आफ्नो घर गाउँमा आएको विकासका योजना संरक्षण गर्न सिक्नुपर्ने बताए । योजना सम्पन्न भएपछि त्यसको संरक्षण गर्ने जिम्मा उपभोक्ताहरुको रहेकोले दुरुपयोग हुन नदिई संरक्षण र मर्मत गर्न सक्ने संयन्त्र निर्माण गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्न अनुरोध गरे ।

खानेपानी जीवनको प्रमुख आधार भएकोले अरुको लगानीको मात्र आश नगरी आगामी दिनमा आफूले अवसरलाई आयआर्जन सँग जोडेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमको अवसरमा बोल्दै वडाअध्यक्ष दिपकराज ढकालले कार्यक्रम संचालन गर्नको लागि जनप्रतिनिधि लगायत परियोजनाले ठूलो लगानी गरेको भन्दै सधैं माग्ने मात्र नभई प्राप्त भएका उपलब्धीको संरक्षण गर्नुपर्ने औंल्याए ।

रिकभर परियोजनाले १२ लाख ९८ हजार ९ सय २६ रुपैयाँको लागतमा सो क्षेत्रमा ४१ बटा धारा सहितको खानेपानी योजना निर्माण गरेको थियो ।

जोखिममा रहेका भूकम्प प्रभावितहरुको लागि पूनर्लाभ एवम सामुदायिक उत्थानशिल परियोजना (रिकभर) अन्तर्गत सुन्दरबजार नगरपालिकाको अतिरिक्त दोर्दी र दूधपोखरीमा समेत कार्यक्रम संचालन भइरहेका छन् । यसैअन्तर्गत सुन्दरबजारमा घर निर्माण, बाख्रा पालन, तरकारी खेती, खानेपानी योजना जस्ता कार्यक्रम परियोजनाले संचालन गरेको रिकभर परियोजनाका जिविकोपार्जन प्राविविध श्रीकान्त पौडेलले जानकारी दिए ।

रिकभर परियोजनाले घर निर्माणको लागि सामग्री उपलब्ध गराउने, ५० हजार रुपैयाँ सम्मको आर्थिक सहयोग गर्ने तथा पूरा घर निर्माण गर्ने गरी तीन किसिमबाट घर निर्माणमा सहयोग गर्दै आएको छ ।

यसैगरी घरको पूननिर्माण गरिएका व्यक्तिहरुलाई सहयोग पुग्ने गरी जिविकोपार्जन अन्तर्गत तरकारी खेती, पशुपालन, कुखुरापालन, खानेपानी लगायतका कार्यक्रम संचालन गरेको सिआरएसका दामोदर पोखरेलले जानकारी दिए ।