बिर्सनै नसक्ने घटनाबाट ‘प्रेमा’को जन्म – निर्देशक भण्डारी

पालिका संचारकर्मी
८ चैत्र २०७९, बुधबार १४:२७

काठमाडौं । आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई ‘रणवीर’मा प्रस्तुत गरेका थिए । अहिले यिनै गोविन्द प्रेमकथाको फिल्म ‘प्रेमा’लिएर आगामी चैत १७ (मार्च ३१)बाट दर्शकमाझ आउँदैछन् । फिल्ममा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ । फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुँदैछ ।

पहिलो लेखन प्रेमा

लेखनका हिसाबले ‘प्रेमा’ भए पनि निर्देशन र रिलिजको हिसाबले ‘रणवीर’ पछि दोस्रो फिल्म हुनेछ । ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ । कुनै न कुनै उमेरमा आफूभन्दा विपरित लिगसँग जोकोही आकर्षित हुने गर्छ’, उनी भन्छन्, ‘मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ । पहिला प्रेमा बनाउन चाहन्थे, तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो ।’

प्रेमाको जन्म

गोविन्दका अनुसार ‘प्रेमा’ वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो । गोविन्दले जीवनको कुनै समयमा एक युवती भेटेका थिए, जोबाट प्रभावित भएर उनले ‘प्रेमा’ लेखे । ‘प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो । किनकी ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ । मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन् । तर प्रेमाको चरित्र आफैंमा शान्त सुशील हुँदा पनि उसमा आकर्षक व्यक्तित्व छ’, गोविन्द भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन उसले कहिल्यै बिर्सन सक्दैन । प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हो ।’

प्रेमाको अर्थ

गोविन्दाका अनुसार ‘प्रेमा’ संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिन्छ । जसको अर्थ ‘माया’ हो । नेपाली फिल्ममा जुनसुकै गीतमा ‘माया’ शब्द जोडिए जस्तै साउथका हरेक फिल्मका गीतमा ‘प्रेमा’ अनिवार्य जस्तै छ ।

पात्र भेट

गोविन्दले वास्तविक पात्रलाई नियमित रुपमा त भेटेनन् । तर जति भेट भयो, त्यो पात्रलाई जान्ने र बुझ्ने अवसरले उनलाई कथालाई अगाडि बढाउने बाटो देखाइदियो । ‘आम रुपमा कोही राम्री युवती देख्दा उसलाई जिस्क्याउने अथवा नराम्रो नजरले हेर्ने गरेको देखिन्छ । तर ‘प्रेमा’को वास्तविक चरित्रको सवालमा फरक अवस्था थियो । उसलाई कसैले पनि गलत अर्थ र गलत नजरले हेरेको र बोलेको सुनिनँ । सबैले सम्मानपूर्व उनको प्रशंसा गर्थे’, गोविन्दले सम्झिए, ‘त्यो मेरा लागि ‘सरप्राइज’ नै थियो । ’

डोभ एस–सिमेन्सबाट प्रभावित

गोविन्द भारतमा बस्दा उनले हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सको बारेमा सुनेका र पढेका थिए । डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इनिस्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन् । डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन् ।

गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङ सम्बन्धी प्रशिक्षण लिएका थिए । ‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो । गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त रु त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो । चरित्र र सिमेन्सको भनाईलाई लिएर प्रेमा लेखेको हुँ’, उनले भने ।

यसरी छानिए कलाकार

गोविन्दको बुझाईमा स्क्रिप्ट लेख्दा एउटा ‘इमेज’ दिमागमा आउँछ । ‘प्रेमा’ लेखिरहँदा उनको दिमागमा पात्रको कपाल, अनुहार, उचाई र शरीरको वनावट बनाइसकेको थियो । शुभेक्क्षासँग उनले ‘रणवीर’मा काम गरिसकेका थिए । त्यसकारणले शीर्ष चरित्रमा शुभेक्क्षा ‘फिट’ छिन् भन्ने कुरामा उनी ढुक्क थिए । ‘म वास्तविक पात्र र फिल्मको पात्रसँग नजिक थिएँ । शुभेक्क्षासँग पहिला पनि काम गरिसकेको हुनाले शुभेक्क्षाले प्रेमा चरित्र निर्वाह गर्न सक्छिन् भन्नेमा म ढुक्क थिएँ’, गोविन्द भन्छन्, ‘शुभेक्क्षालाई सबै कुरा भनेर, स्क्रिप्ट पढ्न लगाएर, न्यारेसन सुनाएर ‘तिमी क्रिएटिभली स्क्रिप्ट मनपर्छ भने मात्र काम गर’ भनें ।’

गोविन्द नयाँ अनुहारसँग काम गर्न मनपराउँछन् । फिल्मका लागि चाहिने प्रमुख पुरुष पात्रका लागि उनले धेरैजनासँग अडिसन लिएका थिए । तर उनले सोचेको जस्तो पात्र फेला पार्न सकेका थिएनन् । त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम लिए । अरुण त्यो समयमा रेनाशा वान्तवा राईको फिल्म ‘आइ एम २१’मा काम गरिरहेका थिए । कृष्णले अरुणसँग कुरा गरेर उनको तस्वीर गोविन्दलाई पठाइदिए । तस्वीर हेर्दा उनले खोजकै जस्तो पात्र अरुणमा पाए । ‘तर तस्वीरमा भन्दा वास्तविकतामा मानिस फरक हुन्छन् । मैले अरुणको अडिसन लिनुभन्दा पनि सुटिङ हेर्ने बहानामा उसको काम हेर्छु भन्ने निर्णय लिएँ । सुटिङमा गएर हेर्दा अरुणको काम, शारीरिक हाउभाउ राम्रो लाग्यो । अनि उसलाई अडिसनमा बोलाएँ’, गोविन्दले सम्झिए ।

सृष्टिबाट प्रभावित गोविन्द

सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो । तर उनले सृष्टिका फिल्म भने हेरेका थिए । सृष्टिसँगको पहिलो सहकार्यबाटै उनी प्रभावित भएका रहेछन् । ‘सृष्टि काममा ध्यान दिने कलाकार हुन् । यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ’, गोविन्द भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्थिइन् । म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिइन् । उसले के लेखिरहेको छ भन्ने हामीलाई थाहा पनि हुँदैन थियो । उनी समयमै सुटिङ सेटमा आउँथिइन् । कतै ढिलो हुने अवस्था भएमा खबर गर्थिइन् । उसको फिल्म हेरिसकेको हुनाले काम गर्न गाह्रो हुँदैन भन्ने अनुभव भयो ।’