चितवनमा आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

पालिका संचारकर्मी
१२ चैत्र २०७९, आईतवार १७:३९

चितवन । जिल्लामा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन् । स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक/एक र इच्छाकामना गाउँपालिकामा एक जना छन् । चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए ।

दुवाडीले बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए । सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन् । बालबालिकामा स्वासप्रश्वास र जुठो खाँदा क्षयरोगको सङ्क्रमण सर्ने उनको भनाइ छ । दुवाडीले भने, “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि सर्ने गरेको छ ।”

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गरेको छ । गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ३१ बालबालिका थिए । आर्थिव वर्ष २०७७/७८ मा सङ्क्रमितको सङ्ख्या आठ सय ९३ मध्ये १८ जना सङ्क्रमित बालबालिका थिए ।

दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु लगायत लक्ष्यण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए । यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवान गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ ।