दार्चुलाका स्थानीय तह दमकलबिहिन
दार्चुला । दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) बिहिन अवस्थामा छन् ।
नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन् । सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ ।
सदरमुकामस्थित खलङ्गा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको स्थानीय धिरज ऐरीले बताए । “बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन”, उनले भने । अव्यवस्थितरुपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ ।
गत वर्ष सदरमुकाम खलङ्गामा एउटा पसलमा आगलागी भयो । तर उक्त ठाउँमा दमकल नै जान सकेन । लाखौँ रुपैयाँको क्षति भयो । जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन । आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षती बेहोर्नु परेको शैल्यशिखर नगरपालिका–६ का जितेन्द्र धामी बताउँछन् ।
दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन् । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् । दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन् । अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन् ।